उस्तै मूल्य भएका दुई नेकेड बाइक सार्वजनिक हुँदै, बिक्रीमा कस्ले मार्ला बाजी

काठमाडौं । पछिल्लो समय युवापुस्ता माझ मोटरसाइकल लोकप्रिय बनेको छ । सबै बर्ग र उमेर समूहको रोजाइमा पर्ने भएकाले पनि नेपालमा मोटरसाइकल व्यापार बढ्दै गएको हो । त्यसमा पनि, मोटरसाइकल खरिदमा युवापिढी निक्कै चुजी हुने गर्छन । 

बाइक प्रति यूवाहरुको शौख नै उच्च हुने गरेको छ । ग्राहकको चुजी स्वभावलाई मध्यनजर गर्दै दुइ पाँग्रे बजारमा आकर्षक विशेषता, लुक र डिजाइनका मोटरसाइकल उत्पादन तथा बिक्री हुदै आएका छन् ।

ग्राहकको आवश्कता तथा मागलाई लक्षित गर्दै विभिन्न कम्पनीले नेपाली बजारमा नेकेड भर्सनका मोटरसाइकल बिक्री गर्दै आएका छन् । नेपाली युवा पुस्तामा पनि नेकेड बाइकप्रतिको रुची निक्कै देखिन थालेको छ । 

यसैबिच, नेपालमा दुई नयाँ नेकेड भर्सनका मोटरसाइकल भित्रीने भएका छन । यी बाइक, भदौ १० गतेबाट सुरु अटो नाडा अटोशोमा सार्वजनिक हुनेछन् ।

सुजुकी टु ह्वीलर्सको लागि नेपालको आधिकारीक वितरक सुजुकी भीजीले भदौ १० गते आफ्नो नयाँ मोडल सुजुकी जिक्सर २५० सार्वजनिक गर्ने भएको छ । साथै, यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले एमटी १५ मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरिरहेको छ । 

मूल्यलाई आधार मान्दा नेकेड भर्सनका यी दुई मोटरसाइकलबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । यी दुई मोडलबीचको समानता र भिन्नतालाई हामीले केलाउने प्रयास गरेका छौ । 

डायमेन्सन

यामाहाको एमटी १५ को लम्बाई २०२० एमएम, चौडाई ८०० एमएम र उचाई १०७० एमएम रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स १५५ एमएम र ह्वीलवेश १३३५ एमएम रहेको छ । यसको तौल १३८ किलोग्राम रहेको कम्पनीले जनाएको छ ।

यस्तै, सुजुकी जिक्सर २५० को लम्बाई २०१० एमएम, चौडाई ७४० एमएम र उचाई १०३५ एमएम रहेको छ । यसको सिटको उचाई ८ सय एमएम रहेको छ ।

इन्जिन

सुजुकी जिक्सर २५०मा उपलब्ध २४९ सीसी सिगंल सिलिन्डर एसओएचसी इन्जिनले ९ हजार आरपीएममा २६.५ बीएच पावरका साथै ७५ सय आरपीएममा २२.६ एनएम टर्क उत्पादन गर्छ । साथै, यसको इन्जिनमा ६ स्पीड ट्रान्समिसन लगाइएको छ । मोटरसाइकलमा फ्युल इन्जेक्शन प्रणाली (एफआई) दिइएको कम्पनीले जनाएको छ ।

एमटी–१५ मा लिक्विड कुल्ड, ४ स्ट्रोक, एसओएचसी, ४ भल्भ, ६ स्पीड ट्रान्समिसनसहित १५५ सीसीको फ्युल इन्जेक्टेड इन्जिन रहेको छ । जसमा भीभीए (भेरिएबल भल्भ एक्चुएसन) सिस्टम छ ।  एमटी–१५ मा सिंगल च्यानल एबीएस रहेको छ । यसमा दिइएको इन्जिनले १० हजार आरपीएममा अधिकतम १९.३ पीएस पावर र ८ हजार ५ सय आरपीएममा अधिकतम १४.७ एनएम टर्क उत्पादन गर्छ ।

विशेषता

नयाँ यामाहा एमटी–१५ मा टिपिकल स्ट्रिट बाइक हेडलाइट छ । जुन एमटी ०९ बाट प्रभावित रहेको छ ।  यसमा एउटा थप प्रोजेक्टर हेडलाइटसमेत रहेको छ । यसको डेल्टाबक्स फ्रेम टाढैबाट स्पष्ट रुपमा देखिन्छ । अगाडिको फर्क यामाहा आर–१५ भी–३ कै प्रयोग गरिएको छ । 

डार्क थिमसहित आएको नयाँ डिजिटल कन्सोल, प्रिमियम टायर कम्बिनेसन र प्रभावशाली डिजाइन ल्याङवेज यसका अन्य विशेषता हुन् । कम्पनीले यसको फ्रन्टमा टेलिस्कोपिक फर्क दिएको छ भने रियरमा मनोसक लगाएको छ । 

त्यस्तै, सुजुकी कम्पनीले जिक्सर २५०को फ्रन्टमा टेलिस्कोपिक फर्क दिएको छ, भने रियरमा मनोसक लगाएको छ । यसको फ्रन्ट र रियरमा डिस्क ब्रेक दिएको कम्पनीले जनाएको छ । कुल तौल १६१ किलोग्राम रहेको यस मोटरसाइकलमा १२ लिटर इन्धन अट्ने फ्युल ट्यांकी लगाइएको छ ।

सुरक्षालाई मध्यनजर गर्दै जिक्सर २५०मा डूअल च्यानल स्टायडर्ड एबीएसको विशेषता समेटिएको कम्पनीले जनाएको छ ।

मूल्य

एमएडब्लू इन्टरप्राइजेजले नेपालमा परिक्षण गरिसकेको एमटी १५ मोटरसाइकल करिब ४ लाख २५ हजार रुपैयाँमा सार्वजनिक हुने अनुमान गरिएको  छ । यस्तै, जिक्सर एसएफको मूल्य करिब ४ लाख ४५ हजार रुपयाँ पर्ने अनुमान लगाइएको छ ।


Back_to_top