भदौ १० गतेदेखि नाडा अटो शो, यी हुन् सहभागी ब्रान्ड

काठमाडौं । भदौ १० गतेबाट सुरु हुने १४ औं संस्करणको ‘नाडा अटो शो २०१९’ को तयारी पुरा भएको आयोजक संस्था नाडा अटोमोवाइल एसोसियसन अफ नेपालले जनाएको छ । 

यस वर्षको मेलामा २३ चारपाङ्ग्रे र १९ दुइपाँग्रे सवारी बिक्रेता कम्पनीले सहभागिता जनाउने भएको नाडाले जनाएको छ । 

६ दिनसम्म संचालन हुने सवारीसाधन सम्बन्धी नेपालकै ठूलो मेला तथा प्रदर्शनीमा संसारकै चर्चित सवारीसाधन कम्पनीहरुले सहभागीता जनाउने भएका हुन् । 

अटो शोमा दुई पाङ्ग्रे र चारपाङ्ग्रे बाहेक १२ ब्रान्डका लुब्रिकेट, ९ ब्रान्डका टायर, ५ वटा ब्रान्डका ब्याट्री , १४ वटा पार्टपुर्जा एवं ग्यारेज उपकरणका कम्पनी तथा १३ वित्तीय संस्थाको सहभागिता रहने छ । प्रदर्शनीमा ठूला तथा साना गरि १६० वटा ब्लक राखिने छन ।

यो वर्ष चार पाङ्ग्रेतर्फ इसुजु, रेनो, हुन्डाई, फक्सवागेन, ड्याटसन, फोर्ड, सुजुकी, होन्डा, एमजी, पुज्यो, फोटोन, फियात, जिप, साङयोङ, टोयोटा, महिन्द्रा, टाटा, किया, माज्दा, मित्सुविसी, निसान र बीवाईडी, दाय कम्पनी सहभागी हुने भएका छन् ।

त्यस्तै दुई पाङ्ग्रेमा यामाहा, हिरो, सीएफमोटो, बेनेली, भेस्पा, अप्रिलिया, रोयल इन्फिल्ड, होन्डा, केटीएम, सुजुकी, एनआइयु, बजाज, रनर, बीएमडब्ल्यु, मियामा, योमा मा ई, एमभी अगस्टा, टीभीएस, सुपर सोको र जीपीएक्स ब्रान्डको सहभागिता रहने छ । 

अटो शोलाई लक्षित गर्दै उल्लेखित अटोमोबाइल्स कम्पनीले आफ्नो नयाँ मोडल सार्वजनिक गर्ने योजना बनाएका छन् । साथै, हाल बिक्री भइरहेका आफ्ना मोडललाई अटो शोबाटै प्रदर्शनी तथा बिक्री गर्ने तयारी गरिरहेका छन् ।

यस वर्षको अटो शोमा करिब ७५ हजार आगन्तुकले अवलोकन गर्ने आयोजकले अनुमान गरेका छन् । 


Back_to_top