नयाँ रुट निर्धारण गर्न तात्यो विभाग, कस्तो बन्ला बस सञ्चालन मोडल

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायात रुट सूचना प्रणाली र काडमाडौं उपत्यकामा सार्वजनिक बस रुट सर्भे गर्न कन्सल्ट्यान्ट माग गरेको छ । सिन्डिकेट अन्त्यका लागि सरकारले गत वर्ष नै समिति खारेज गर्ने निर्णय गरेको भएपनि जेठ मसान्तसम्म थप गरिएको छ । 

जेठ मसान्तसम्म मात्र रहेको समितिको म्याद सकिनु पूर्व विभागले सार्वजनिक यातायात सञ्चालनको मोडालिटी तयार पारिसक्ने योजना विभागले बनाएको छ । तर त्यसका लागि काम सक्न निक्कै कम समय मात्र बाँकी रहेको छ । 

विभागले बैशाख १८ गते सार्वजनिक सूचना जारी गर्दै परामर्शदाता माग गरेको हो । विभागले जारी गरेको सूचना अनुसार दुई विषयमा परामर्श माग गरिएको छ । सार्वजनिक यातायातको रुट सूचना प्रणालीको विकास र काठमाडौं उपत्यकामा सार्वजनिक बसको रुट सर्भेका लागि परामर्श माग गरिएको हो । 

उक्त सूचना अनुसार इच्छुक कम्पनीले सूचना प्रकाशित भएको १५ दिन भित्र प्रस्ताव पेश गर्न सक्ने छन् । विभागले सूचना प्रकाशित गरे अनुसार परामर्शदाता कम्पनीले निवेदन दिन अब ३ दिन मात्र बाँकी छ । 

परामर्शदाताले दिने सुझावका आधारमा विभागले व्यवसायीहरुसँगको समन्वयमा सार्वजनिक बस सञ्चालनको मोडालिटी तयार पारिने जनाएको छ । 


Back_to_top