एक हजार सीसीको ह्याचव्याक कार खोज्नेलाई यी हुन् ५ विकल्प (मूल्यसहित)

सांकेतिक तस्विर

काठमाडौं । हजार सीसी क्षमताको कार किन्न खोज्नेलाई लक्षित गर्दै रेनो, डाट्सन, फक्सवागन र मारुती सुजुकीले ह्याचव्याक कार विक्री वितरण गर्दै आएका छन् ।

सरकारले १००० सीसीभन्दा काम क्षमताका कारमा केहि कम अन्तःशुल्क लगाउँदै आएको छ भने, यस्ता साना कारको वार्षिक कर पनि केहि कम लाग्ने छ । त्यसैले सहरी क्षेत्रमा आफ्नो यात्रा गर्ने मानिसको रोजाईमा साना कार पर्दै आएका छन् ।

मूल्यका हिसावले पनि २४ लाखदेखि ३० लाख रुपैयाँसम्ममा किन्न सकिने साना इन्जिनका ह्याचव्याक कार उत्कृष्ट माइलेजको लागि पनि चिनिन्छन् । यस्ता गाडीको संचालन खर्चसमेत कम हुने गरेको छ ।

१. क्वीड

रेनोको आधिकारीक वितरक एड्भान्स अटोमोवाइलले नयाँ फेसलिफ्ट क्वीड विक्री गर्दै आएको छ । फेसलिफ्ट मोडलमा आएसँगै क्वीडको विक्री निकै बढेको तथ्यांकले देखाएको छ । बीएस ६ मापदण्डको १.० लिटर पेट्रोल इन्जिन रहेको क्वीडमा आकर्षक ग्रिल, रिस्टाइल बम्पर, स्प्लिट हेडल्याम्प सेटअपसँगै एलइडी डिआरएलएस लगाइएको छ । कम्पनीले यसको फ्रन्ट र रियर साइडलाई निक्कै परिवर्तन गरेको छ ।

पहिलेको तुलनामा आधुनिक फिचर दिइएको क्वीडमा पावर विन्डो, दुई एयरब्याग, रियर पार्किङ सेन्सर, एन्ड्रोइड अटो, एप्पल कार प्ले, रियर सिट आर्मेस्ट, एयरब्याग, एबीएस, इबीडी, रियर सेन्सर, सिटबेल्ट रिमाइन्डर, स्पीड अलर्ट सिस्टम जस्ता फिचर उपलब्ध रहेको छ ।

कम्पनीले क्वीडको ३ भेरियन्ट नेपालमा विक्री गर्दै आएको छ । जसमा आरएक्सटी भेरियन्टको २४ लाख ९९ हजार, आरएक्सटी एएमटीको २६ लाख ४९ हजार र क्लाइम्बर भेरियन्टको २५ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर विक्री वितरण हुँदै आएको छ ।

२. रेडी गो

नेपालको लागि डाट्सनको आधिकारीक बिक्रेता पायोनियर मोटोकर्पले रेडी गो फेसलिफ्ट विक्री गर्दै आएको छ । रेडी गो फेसलिफ्टमा पनि क्वीडको जस्तै समान १.० लिटर इन्जिन दिइएको छ ।

कम्पनीले नयाँ रेडी गोको मूल्य २३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर विक्री गर्दै आएको छ । नयाँ रेडी गो पहिलेको तुलना स्पोर्टी र नयाँ फिचर थप भएर आएको छ । यसको ग्रिलसँगै एल सेपमा डिआरएलएस दिइएको छ । स्किड हेडल्याम्पलाई सिल्भर कलरले सजाइएको छ । एलइडी फगल्याम्प, १४ इन्चको अलोय ह्वील, डुअल टोन कलर अप्सन, एलइडी सिग्नेचर टेलल्याम्प जस्ता फिचरले गाडीलाई आकर्षक बनाएको छ ।

रेडी गो फेसलिफ्ट सेग्मेन्टमा सबैभन्दा बढी ग्राउण्ड क्लियरेन्स भएको गाडी हो । यसमा १८७ एमएम ग्राउन्ड क्लियरेन्स दिइएको छ । इन्टेरियरलाई पनि उत्कृष्ट बनाउन कम्पनीले कुनै कसर बाँकी राखेको छैन । यसमा ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ ।

३. फक्सवागन पोलो

फक्सवागनको आधिकारीक वितरक पुजा इन्टरनेशनलले पोलो १.० लिटर इन्जिनमा विक्री गर्दै आएको छ । कम्पनीले १.० लिटर टर्बो र रेगुलर इन्जिनमा पोलो विक्री गर्दै आएको हो । नेपालमा फक्सवागनले विक्री गर्दै आएको सबैभन्दा कम मूल्यको कार नै पोलो हो ।

निकै सुरक्षीत मानिने पोलोमा डियूल एयरव्याग, एबीएस, रियर पार्किङ सेन्सर, एड्जेस्टेवल हेड रेष्ट, रियर फग लाइट, १४ इन्चको स्टील ह्वील, बडी कलर ओआराभीएमएसमा टर्न इन्डिकेटर, हिटेड विन्डस्कृन जस्ता फिचर पाउन सकिन्छ ।
व्ल्याक एण्ड ग्रे इन्टेरियर, एड्जस्टेवल स्टेरिङ, फ्ल्याट वटम स्टेरिङ ह्वील, ड्राइभर साइड डेड पेडल, फोल्डीङ रियर सिट, हाइट एड्जस्टेवल ड्राइभिङ सिट, १४ इन्चको स्पेयर ह्वील जस्ता विशेषता यसका रहेका छन् । पोलोको सुरुवाती भेरियन्टको मूल्य ३० लाख ९० हजार रुपैयाँ रहेको छ ।

४. सुजुकी सेलेरियो

सिजी मोटोकर्पले विक्री गर्दै आएको मारुती सुजुकी सेलेरियोमा ९९८ सीसी क्षमताको के१०बी थ्रि सिलिण्डर इन्जिन दिएको छ । यसमा रहेको इन्जिनले ६७ किलोवाट पावर र ९० एनएम टर्क प्रदान गर्छ ।

पाँच जनाले आरामदायी यात्रा गर्न सक्ने यो कारमा सुरक्षाको लागि एबीएस, इबीडी, एयरव्याग, पार्किङ क्यामेरा जस्ता फिचर दिइएको छ । स्टेरिङ माउन्ट अडियो कन्ट्रोल, मल्टी इन्फर्मेशन डिस्प्ले जस्ता फिचरले यसलाई उत्कृष्ट बनाएको छ । कम्पनीले यसको एलएक्सआई भेरियन्टको मूल्य २५ लाख ४९ हजार, जेडएक्सआई भेरियन्टको २७ लाख ९९ हजार र सेलेरियो एक्स भेरियन्टको २९ लाख २९ हजार रुपैयाँ राखेर विक्री वितरण गर्दै आएको छ ।

५. सुजुकी एस-प्रेसो

मारुती सुजुकीको अर्को कार एस-प्रेसो अर्को एक हजार सीसी क्षमताको इन्जिन भएको कार हो । फर्स्ट एसयूभी नारासहित नेपालमा विक्री भइरहेको एस-प्रेसोमा एयर कन्डिशनरको सुविधासँगै पावर स्टेयरिङ्ग, फ्रन्ट पावर विन्डो, किलेस इन्ट्री, सेन्ट्रल लकिंग सिस्टम, बडि कलर बम्पर जस्ता विशेषता दिइएको छ । यसमा १७.७८ सेन्टिमिटरको स्मार्ट प्ले स्टुडियो टचस्क्रृन इन्फोटेन्टमेन्ट सिस्टम, स्टेयरिङ्ग माउन्टेड कन्ट्रोल्स, बडी कलर ओरभीएमएस लगायतका विविध विशेषता दिइएको छ ।

कारमा एबीएस, इबीडी, ड्राइभर साइड एयर ब्याग, रिभर्स पार्किङ सेन्सर, स्पीड अलर्ट सिस्टम ड्राइभर र को-ड्राइभर सिटबेल्ट रिमाइन्डरको विशेषता प्रदान गरिएको छ । कम्पनीले विभिन्न ४ भेरियन्टमा एस-प्रेसो विक्री वितरण गर्दै आएको छ । यसको सुरुवाती भेरियन्ट एसटीडीको मूल्य २३ लाख ४९ हजार, एलएक्सआईको २४ लाख ४९ हजार, भीएक्सआईको २५ लाख ४९ हजार र भीएक्सआई प्लसको २५ लाख ९९ हजार रुपैयाँ रहेको छ ।


Back_to_top