कम्प्याक्ट एसयूभी सेग्मेन्टमा कडा प्रतिस्पर्धा, यस्तो छ साइज, इन्जिन र माइलेज

विगत केही वर्षदेखि नेपाली बजारमा कम्प्याक्ट एसयूभीको चर्चा चुलिएको छ । सडकको खराब अवस्थाले गर्दा एसयूभी अहिलेको हटकेक भएको छ । पहिला लग्जरी सेग्मेन्टमा बढी विक्री हुने सेडान सेग्मेन्टका कारहरु अहिले नेपाली बजारमा नगन्य मात्रामा मात्र विक्री हुने गरेको तथ्यांकले देखाएको छ । लग्जरी सेग्मेन्टमा पनि एसयूभीहरुकै दबदबा रहेको छ । माइक्रो, कम्प्याक्टदेखि मिड साइज र फुल साइजका दर्जनौं एसयूभीहरु अहिले बजारमा बाक्लो उपस्थिति रहेको छ । प्रिमियम ह्याचब्याक र मिडसाइजका सेडान किन्ने बजेटमा अहिले धेरै मोडलका कम्प्याक्ट एसयूभीहरू उपलब्ध रहेका छन् ।

नेपाली बजारमा एसयूभीहरू मध्य कम्प्याक्ट एसयूभी  (४ मिटर भन्दा कम लम्बाइको) सबभन्दा धेरै विक्री हुने सेग्मेन्टमा पर्दछ । अहिले बजारमा पेट्रोल इन्जिन अप्सनमा मारुती सुजुकीको ब्रेजा, फोर्डको इकोस्पार्ट, हुन्डाइ भेन्यू, किया सोनेट, महिन्द्रा एक्सयुभी-३०० र टाटा नेक्सन प्रतिस्पर्धा गरिरहेका छन् । यही सेग्मेन्टमा फाइट गर्नका लागि निसानले चाँडै नै कम्प्याक्ट एसयूभी म्याग्नाइट नेपाली बजारमा उतार्ने तैयारी गरिरहेको छ ।

सुरुवाती मूल्य ३० लाखको हाराहारीमा आउने अनुमान गरिएको निसान म्याग्नाइटले नेपाली बजारमा राम्रो बजार हिस्सा बनाइरहेको ह्याचब्याक तथा प्रिमियम ह्याचब्याक सेग्मेन्टको बजार संरचनालाई समेत प्रभाव पार्ने अनुमान गरिएको छ ।

नेपाली बजारमा चर्चामा रहेका कम्प्याक्ट एसयूभीहरु १.० लिटर देखि १.५ लिटर इन्जिन अप्सन भएका छन् । यस्ता एसयूभीहरु नेचुरल यस्पायर्ड तथा टर्बो चार्ज्डयुक्त रहेका छन् । टाटा नेक्सन तथा महिन्द्रा एक्सयुभी-३०० मा १.२ लिटर, हुन्डाइको भेन्यू र आउँदै गरेको निसान म्याग्नाइटमा १.० लिटरको टर्बो चार्ज्ड  इन्जिन रहेको छ । टर्बो चार्ज्ड इन्जिन भनेकोे थोरै सीसीको सानो इन्जिन भएता पनि धेरै पावर, टर्क तथा माइलेज दिने आधुनिक प्रविधि हो ।

नेपालमा उपलब्ध कम्प्याक्ट एसयूभीहरु मध्ये सबभन्दा ठूलो फोर्डको इकोस्पोर्ट लम्बाई र उचाइमा क्रमशः ३ हजार ९९८ एमएम र १ हजार ६४७ एमएम रहेकोछ । त्यस्तै चौडाइ र ह्वीलबेस सबभन्दा ठूलो भने महिन्द्रा एक्सयुभी-३०० को क्रमशः १ हजार ८२१ एमएम र २ हजार ६०० एमएम रहेको छ ।

त्यस्तै बुटस्पेस कियाको सोनेको सबभन्दा बढी ३९२ लिटरको रहेको छ भने । ग्राउण्ड क्लियरेन्स सबभन्दा बढी टाटा नेक्सनको २०९ एमएम रहेको छ । फ्युल ट्याङको तुलना गर्दा फेरि पनि फोर्डको इकोस्पोर्टमा सबभन्दा ठूलो ५२ लिटरको ट्याङ रहेको छ ।

नेचुरल यस्पायर्ड इन्जिनको तुलना गर्दा कम्प्याक्ट एसयूभीको इन्जिनहरु मध्ये फोर्डको इकोस्पोर्ट र सुजुकी ब्रेजा समान १.५ लिटरको इन्जिन रहेको छ । कियाको सोनेट तथा हुन्डाईको भेन्यूमा १.२ लिटरको इन्जिन रहेको छ । त्यस्तै आउँदै गरेको निसानको म्याग्नाइट भने १.० लिटरको इन्जिन अप्सनमा रहनेछ । पावर तथा पर्फमेन्सको तुलना गर्दा फोर्डको इकोस्पोर्टको इन्जिनले सबभन्दा धेरै १२२ पीएस पावर तथा १४९ एनएम टर्क प्रदान गर्दछ ।

त्यस्तै, नेपाली बजारमा उपलब्द टर्बो चार्ज्ड पेट्रोल कम्प्याक्ट एसयूभीको तुलना गर्दा टाटा नेक्सन र महिन्द्रा एक्सयुभी-३०० समान १.२ लिटर इन्जिन अप्सनमा उपलब्ध रहेको छ । हुन्डाइको भेन्यू र निसानको म्याग्नाइट भने १.० लिटरको इन्जिनमा रहेको छ । जसमा हुन्डाइको भेन्यू र टाटाको नेक्सनले समान १२० पीएस पावर प्रदान गर्छ भने महिन्द्राको एक्सयुभी-३०० ले सबभन्दा धेरै २०० एनएम टर्क जेनेरेट गर्छ ।

कम्पनीहरुले दाबी गरेको माइलेजको तुलना गर्ने हो भने नेचुरल यस्पायर्ड तथा टर्बो चार्ज्ड इन्जिन अप्सन दुबैमा क्रमशः १८.७५ किलोमीटर र २० किलोमिटर प्रतिलिटर दिँदै निसानको म्याग्नाइट अगाडि देखिएको छ । टर्बो चार्ज्ड अटोमेटिक गियर बक्सयुक्त इन्जिनमा भने सबभन्दा धेरै हुन्डाइको भेन्यूले १७.९९ किलोमिटर प्र्रतिलिटर माइलेज दिने दाबी गरेको छ ।


Back_to_top