एक दशकमा पनि किन बनेन मधेसको लाइफ-लाइन ‘हुलाकी राजमार्ग’

काठमाडौं । हुलाकी राजमार्ग निर्माण सुरु भएको झण्डै १० वर्ष पुरा भएको छ । आर्थिक वर्ष २०६५/०६६ मा निर्माण सुरु भएको शो आयोजना आर्थिक वर्ष २०६९/०७० सालसम्ममा सम्पन्न हुनुपर्ने थियो । तर, झण्डै एक दशक पुग्दासमेत मधेसको लाइफ–लाइन मानिएको आयोजनाको भौतिक प्रगति भने निशाजनक रहेको छ । 

भौतिक तथा पूर्वाधार मन्त्रालयले हुलाकी राजमार्गको निर्माण तिब्रगतिमा बढिरहेको बताउँदै आएको छ । तर, हालसम्म आयोजनाको भौतिक प्रगति भने ३० प्रतिशतको हाराहारीमा रहको छ । ९ सय ७५ किलोमिटरमा फैलिको हुलाकी राजमार्ग बन्नमा ढिलाई भइरहेको हो ।

मन्त्रालयका प्रवक्ता शिवहरि सापकोटाका अनुसार चालु आर्थिक वर्षमा लिइएको लक्ष्यको ५४ प्रतिशत भौतिक प्रगति भएको छ । 

‘चालु आर्थिक वर्षमा वार्षिक कार्यक्रमको ५४ प्रतिशत प्रगति भएको छ, कामले तिब्रता पाएको र आयोजनालाई अझ तिब्रता दिनेगरी काम भइरहेको छ,’ सापकोटाले मेरोअटोसँग भने । 

उक्त आयोजना बजेट अभाव, स्थानीयको अवरोध, वन तथा जग्गाको समस्या, निर्माण सामग्रीको अभावलगायतका विभिन्न कारणले प्रभावित हुँदै आएको मन्त्रालयले जनाएको छ । 

यस्तै उत्तर दक्षिण तर्फका निर्माणाधीन सडकहरु प्रादेशिक सडकका रुपमा प्रदेश सरकारमा हस्तान्तरण गरिने भने पनि त्यसबारे स्पष्ट मापदण्ड नहुँदा आयोजनाको काम प्रभावित भएको छ । 

पूर्व-पश्चिम हुलाकी राजमार्गको ९ सय ७५ किलोमिटर सडक कालोपत्रे गर्ने भनिए पनि हालसम्म ४ सय ७ किमि सडकको ठेक्का दिने कामसमेत हुन सकेको छैन । 

तराईका जिल्लाहरु जोड्ने शो राजमार्ग एक्सप्रेस हाइवेका रुपमा विकास गरिने लक्ष्य राखिएको भए पनि सम्पन्न हुन सकेको छैन । 

यस्तै यसखन्ड अन्तर्गतको भरतपुर–माडी–ठोरी सडकको माडी गाउँपालीकामा १० वटा पुल निर्माणकार्य चितवन राष्ट्रिय निकुञ्जको कारण रोकिएको छ । साथै तामागढी-सिम्रौनगढ सडकमा स्थानीय बासिन्दाले मुआब्जा नपाएका कारण निर्माण कार्य हुन सकेको छैन । 

पहिलो चरणअन्र्तगत १७ मध्ये १० वटा सडक भारतीय सहयोगमा निर्माणाधीन रहेका छन् भने, ७ वटा नेपाल सरकारको स्रोतबाट स्तरोन्नति भइरहेका छन् । 

दोस्रो चरणमा पूर्व-पश्चिमतर्फ ४ सय ७ र उत्तर–दक्षिणतर्फ १ सय ५७ किमि सडक निर्माण अझै अन्योलमा छ । 

हालसम्म १२८ किमि सडकको मात्रै कालोपत्रे सम्पन्न उक्त आयोजना २०७८ सालसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । 


Back_to_top